भारतीय दूतावासको पत्रबारे मलाई किन जानकारी दिइएन, अब सोध्छु : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित तरकारी र फलफूलकाे विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएकाे विषयमा खोजी गरिने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडाैंमा आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हाेस् भनेर सरकारले जाँच सुरु गरेको र यो कसैविरुद्ध नभई नेपालीको खानेकुराबारे मात्र भएको दाबी गरे ।
स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, 'जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशा देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।' उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । (रासस)