प्रेमी पाउनकै लागि १२ लाख छुट्याएर छोरीले आफ्नै आमालाई मार्न लगाइन् !
काठमाडौं आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरामा बस्दै आएकी महिलाको हत्या भएको थियो ।
ती महिलाको हत्यामा उनकै छोरीको संलग्नता भएको देखिएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको मृतककी छोरी ईश्वरी भट्टराईको योजनाअनुसार भएको बताएको हो ।
डेरामा बस्दै आएकी सिन्धुपाल्चोककी ६१ वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो घाटी रेटेर हत्या भएको थियोे । उनको हत्यामा संलग्न आरोपमा मृतककी छोरी ईश्वरी भट्टराईसहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छोरी बाहेक अन्य तीनलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेको हो ।
प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो ।
पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताउनुभयो ।
“आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।
घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताउनुभयो ।
मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।