दुःख गरेर खान के को लाज :रवि गोतामे
लमजुङ – पढ्ने धोको हुँदाहुँदै घरको आर्थिक अवस्थाले गर्दा लमजुङ सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका रवि गोतामेले खासै पढ्न पाउनुभएन । घर व्यवहारले च्याप्दै लगेपछि उहाँले बीचैमा पढाइ छोडेर विदेश भासिनुपर्याे ।
‘घरको अवस्थाले गर्दा खासै पढ्न सकिएन,’ उहाँले भन्नुभयो, ‘पैसा कमाउनका लागि १८ वर्षकै उमेरमा विदेश गएँ ।’
साढे २ वर्षसम्म उहाँ कतारमै बस्नुभएका गाेतामेकाे भागमा विदेशमा दुःख धेरै, कमाइ कम भयो । खासै राम्रो कमाई नभएपछि विदेश बसिरहन मन लागेन । विदेशमा पनि खासै कमाइ नभएपछि गाउँ फर्कनुभयाे।
‘बिल्डिङ कन्स्ट्रक्सन’मा लेवरको रुपमा काम गरेँ । ५५ डिग्रिको घाममा खटिनुपर्ने, साहै दुःख थियो । कमाई पनि राम्रो भएन,’ उहाँले आफनो साढे २ वर्षे विदेश अनुभव सुनाउनुभयो ।
गाउँ फर्केपछि उहाँले घर ‘पेन्टिङ’, ‘प्लाष्टर’ गर्ने काम गर्नुभयो । २०७० सालमा बिहे गरेपछि उहाँको काँधमा जिम्मेवारी थपियो । नियमित काम नहुँदा घरव्यवहार चलाउन झनै सकस भयो । घरको गर्जो टार्न समस्या हुँदै गएपछि आफ्नै कुनै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोच पलायाे । लगत्तै, उहाँले जुत्ता–चप्पल मर्मतका साथै बिक्री गर्ने पुख्र्यौली पेशालाई व्यवसायका रुपमा सुरु गर्नुभयो ।
सुरुमा उहाँले घरमै जुत्ता–चप्पल सिलाउने काम गर्नुभयो । यसबाट महिनाको ८-१० हजार कमाइ हुन्थ्यो तर यतिले गर्जो टार्न समस्या नै भयो । त्यसपछि उहाँले तनहुँको मानेचौकामा जुत्ता–चप्पल सिलाउने व्यवसाय सञ्चालन गर्नुभयो ।
जुत्ता–चप्पल सिलाइ र मर्मत बिक्रीबाट अहिले मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आउनुभएकाे छ । विशेषगरी सञ्चालन गरेको सुज सेन्टरमा जुत्ता–चप्पल मर्मत गर्न आउनेको संख्या धेरै हुन्छ । पसलमा सुन्दरबजार, खत्रीठाँटी, दुराडाँडा, कुन्छा, परेवाडाँडा, मानेचौका लगायतका ठाउँबाट मानिसहरुरु जुत्ता–चप्पल सिलाउन आउने गरेको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय पुख्र्यौली पेशामा युवाको खासै आकर्षण छैन । तर रविले पुख्र्यौली पेशा अपनाएरै राम्रो कमाउँदै आउनुभएको छ ।
‘समाजले ईज्जतले हेर्दैन भन्ने सोचका साथै मनमा लाज पालेर हुनसक्छ युवाहरु यो काम गर्न मान्दैनन,’ २७ वर्षे रविले भन्नुभयो, ‘दुःख गरेर खान के को लाज ?’ हातमा सीप भएर काममा खट्नसके कम लगानीमै राम्रो कमाइ गर्न सकिने उहाँकाे अनुभव छ।