स्थानीय निर्वाचनको तयारीमा केन्द्रित हुने एमालेको राष्ट्रिय भेला
नेकपा (एमाले) ले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनमा केन्द्रित गर्ने भएको छ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्दै स्थानीय निर्वाचनको तयारी तथा पार्टी सङ्गठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयलाई प्राथमिकता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक अवस्था र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने भट्टले बताए।
बैठकले मङ्सिर ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मङ्सिर ४ गते बस्ने निर्णयसमेत गरेको छ।
बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ।