महाभियोगको चेतावनीपछि मङ्गोलियाका राष्ट्रपतिले दिए राजीनामाको घोषणा
भ्रष्टाचारको आरोप लगाउँदै विपक्षी दलले महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
विपक्षी डेमोक्रेटिक पार्टीले सोमबार भ्रष्टाचारको आरोप लगाउँदै पद त्याग्न वा संसद्मा महाभियोगको सामना गर्न आह्वान गरेको थियो। त्यसको एक दिनपछि मंगलबार राष्ट्रपतिले राजीनामाको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा उनले आफूविरुद्ध झुटा आरोप लगाएर गम्भीर अपराधमा संलग्न भएको भन्दै बदनाम गरिएको दाबी गरे। आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्न पदबाट राजीनामा दिन लागेको उनको भनाइ थियो।
उनले आफ्नो कार्यकालमा जनता वा राज्यको सम्पत्ति चोरी नगरेको र कसैलाई धोका नदिएको दाबी गर्दै आफ्नो प्रतिष्ठामा आँच पुर्याउनेहरूलाई सम्बन्धित निकायसमक्ष बुझाउने बताए।
मङ्गोलिया पछिल्ला महिनादेखि राजनीतिक अस्थिरता र सत्तारूढ मङ्गोलियन पिपुल्स पार्टी (एमपीपी) भित्रको आन्तरिक विवादबाट गुज्रिरहेको छ। भ्रष्टाचारविरुद्ध हप्तौँसम्म प्रदर्शन भएपछि मार्चमा सांसदहरूले एक वर्षभन्दा कम अवधिमा तेस्रो प्रधानमन्त्री नियुक्त गरेका थिए।
राजधानी उलानबटोरमा हजारौँ युवाले धनी अभिजात वर्ग र आफूहरूले व्यापक अन्यायका रूपमा लिएको अवस्थाविरुद्ध प्रदर्शन गरेका थिए।