काभ्रेको रिसोर्टबाट ३६ चिनियाँ नागरिक पक्राउ, ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे छापा मारेको हो।
प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० सदस्यीय सुरक्षा टोलीले रिसोर्टमा चेकजाँच गर्दा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तलासीका क्रममा रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत बरामद गरिएको छ।
पक्राउ परेका चिनियाँ नागरिकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको छ। उनीहरू साइबर अपराध वा अन्य गैरकानुनी गतिविधिमा संलग्न रहे/नरहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।