बर्दियाको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्ज र एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको हो । ६७ करोड ४५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ ।
सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । दुई लेनको पुल निर्माणपछि गुलरिया र आसपासका क्षेत्रका स्थानीयवासीको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुरानो पुल विसं २०७२ को बाढीले भासिएको थियो । त्यसपछि विसं २०७९ को बाढीले पुलका तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको थियो ।
पुल नहुँदा स्थानीयवासीले अहिले पनि डुङ्गा वा काठे पुलबाट शुल्क तिरेर नदी वारपार गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् ।