चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका ४०५ मोटरसाइकल नियन्त्रणमा
चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियान तीव्र बनाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर निकालेर ठूलो आवाज निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ सिस्टम परिवर्तन गरी मोटरसाइकल चलाउने गरेको पाइएको छ।
चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र बिरामीलाई असर गर्नुका साथै विद्यार्थीको पढाइ र सार्वजनिक शान्तिमा समेत बाधा पुर्याउने गरेको प्रहरीले जनाएको छ। त्यस्तै, सवारीसाधनको स्वरूप परिवर्तन गर्दा यान्त्रिक संरचनामा असर परी दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ।
नागरिकको गुनासो सम्बोधन, ध्वनि प्रदूषण नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सुवेदीले बताए। प्रहरीले वातावरण विभागसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परीक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमनसमेत प्रभावकारी बनाउने जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ। त्यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९४ अनुसार अनुमति नलिई स्वरूप परिवर्तन गरी सवारी सञ्चालन गरेमा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।