नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा रोजगार संयोजकविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गिरी फेटा गाउँपालिकामा सञ्चालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पदमा २०७८ जेठ १ गते नियुक्त भएका थिए।
अख्तियारका अनुसार उक्त पद प्राप्त गर्न गिरीले पेस गरेको तीन वर्षे बी.एड. तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा अर्कै व्यक्तिको भएको पुष्टि भएको छ।
गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यता नक्कली रहेको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा वास्तविक शैक्षिक योग्यता लुकाई झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदा प्राप्त गरेको देखिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार हदैसम्मको कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।