एनपीएल इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत इलिमिनेटर खेलमा आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ।
लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गरेका दुवै टोलीका लागि यो खेल निर्णायक हुनेछ। जित्ने टोलीको उपाधि यात्रा कायम रहनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
इलिमिनेटरको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ।
काठमाडौं गोर्खाजले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोर्दै आठ अंक जोडेको थियो। सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको काठमाडौं पछिल्ला दुई खेलमा भने पराजित भएको थियो।
यता, चितवन राइनोजले सात खेलबाट तीन जित, तीन हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंक जोडेको थियो। चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको चितवन काठमाडौंलाई हराएर उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ।
यसअघि भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लिग चरणमा ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको लुम्बिनी अब उपाधिको प्रतीक्षामा छ।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा खेल्ने अवसर पाएको छ। यता, विराटनगर किङ्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएका छन्।
अब काठमाडौं र चितवनमध्ये कुन टोलीले दबाबपूर्ण इलिमिनेटर पार गर्दै उपाधि यात्रालाई अघि बढाउँछ भन्ने चासो क्रिकेटप्रेमीमा छ।