तीन वर्षअघि बनेको वैकल्पिक खानेपानी संरचना अझै सञ्चालनमा आएन
मुख्य मुहान र पाइपलाइनमा समस्या हुँदा पानी आपूर्ति गर्ने उद्देश्यले दुई करोड ४६ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको संरचना प्राविधिक समस्या देखाउँदै प्रयोगविहीन बनेको हो ।
बेनी नगरपालिका–२ स्थित म्याग्दी नदी किनारको हाडेभिरबाट पानी तानेर बराहपाखोस्थित रिजर्भ ट्याङ्कीमा पुर्याउने गरी विसं २०८० मा संरचना निर्माण सम्पन्न गरिएको थियो । तर, हालसम्म उक्त संरचना उपभोक्ता संस्थालाई हस्तान्तरणसमेत गरिएको छैन ।
गत असोजको बाढीपहिरोले मुख्य खानेपानी पाइपलाइनमा क्षति पुर्याउँदा बेनीमा पानी आपूर्ति प्रभावित भएको थियो । वैकल्पिक संरचना सञ्चालनमा नआउँदा उपभोक्ताले थप समस्या भोग्नुपरेको छ ।
हाल रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी रूपमा मर्मत गरिएको पाइपलाइनमार्फत प्रतिसेकेन्ड आठ लिटर पानी आपूर्ति भइरहेको छ । विपद्अघि त्यहाँबाट २२ देखि २५ लिटर पानी आउने गरेको थियो । दैनिक २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने बेनीमा अहिले आलोपालो प्रणालीबाट वितरण गर्नुपरेको छ ।
बेनीका करिब २५ हजार जनसङ्ख्यालाई सहज खानेपानी उपलब्ध गराउन तत्कालीन तथा दीर्घकालीन योजनासहित थप बजेटको प्रस्तावसमेत गरिएको छ ।