नेसनल मेडिकल कलेजका पीजी आवासीय चिकित्सकले दिए सामूहिक राजीनामा
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् ।
कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै चिकित्सकहरूले राजीनामा दिएका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन् ।
चिकित्सकहरूका अनुसार उनीहरूले गत ३१ साउनदेखि कलेज प्रशासनविरुद्ध शान्तिपूर्ण धर्ना तथा आन्दोलन गर्दै आएका थिए । यसबीच शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफल भए पनि समस्या समाधान हुन सकेन ।
आफूहरूमाथि लगाइएका आरोप तथा समस्यासँग सम्बन्धित प्रमाणहरू प्रस्तुत गर्दा पनि सरोकारवाला निकायले समाधानको आश्वासन मात्र दिएको चिकित्सकहरूको आरोप छ । पटक–पटक पहल गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर सामूहिक राजीनामा दिनुपरेको उनीहरूले जनाएका छन् ।