हेटौंडामा भोलिदेखि ५३१ संरचना हटाउने तयारी
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको केन्द्ररेखाबाट २५–२५ गजभित्र पर्ने अतिक्रमित घर–टहरा हटाउन सडक डिभिजन हेटौंडाले दिएको १५ दिने अल्टिमेटम आज पूरा भएको छ।
५ मंसिरमा सूचना जारी गरेर स्वेच्छिक रूपमा संरचना हटाउन आह्वान गरे पनि तोकिएको समयसम्म अधिकांश संरचना यथावत् रहेका छन्। मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी तथा व्यवसायी आन्दोलनमा छन् भने केहीले घर भत्काउने तयारी गर्दै सामान सारिसकेका छन्। मकवानपुर उद्योग वाणिज्य संघले भने आन्दोलनमा सहभागी नहुने निर्णय गरेको छ।
सडक डिभिजनले भोलि २० मंसिरदेखि अतिक्रमित संरचना हटाउन मैदानमा उत्रिने तयारी गरेको छ र २०–२५ दिनभित्र सबै संरचना हटाइसक्ने लक्ष्य लिएको छ। डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीले अब वर्षौँदेखि रोकिँदै आएको सडक विस्तार कार्य अघि बढाउनै पर्ने बताउँदै २० वटा हेभी उपकरणसहित आवश्यक परे काठमाडौं–जनकपुरबाट थप उपकरण मगाइने जानकारी दिएका छन्। रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६.३ किमी र बुद्धचोकदेखि सामरी पुलसम्म ३.२ किमी गरेर कुल ८.५ किमी सडक विस्तारको क्रममा ५३१ वटा अतिक्रमित संरचना हटाइनेछ। यसअघि २०७६ असारमा एकपटक सडक क्षेत्र खाली गराउँदा राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो।
सर्वोच्च अदालतको फैसलाका आधारमा पुनः थालिन लागेको यसपटकको सडक विस्तारसँगै हेटौंडामा वर्षौँदेखिको विवादित मुद्दा कार्यान्वयनतर्फ अघि बढ्न लागेको छ।