बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा ल्याउने पहल, नगरपालिकाको सक्रियता बढ्यो
१८ मंसिर, काठमाडौं । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बुढानीलकण्ठ मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिकाले जनाएको छ।
नगर प्रमुख मीठाराम अधिकारीका अनुसार युनेस्कोसँग औपचारिक पहल शुरु भइसकेको छ। १२औँ स्थापना दिवसका अवसरमा उनले नेपाल सरकारका सम्बन्धित निकायसँग पनि आवश्यक समन्वय भइरहेको जानकारी दिए। मन्दिर परिसरमा अधिग्रहीत सार्वजनिक जग्गा फिर्ता ल्याउन समेत पालिका सक्रिय रूपमा लागिरहेको प्रमुख अधिकारीले बताए।
शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुदलाई प्राथमिकता दिएको नगरपालिकाले शिक्षा बजेट बढाएर १३ करोड पुर्याएको छ। कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ भने ४ GPA ल्याउने सामुदायिक विद्यालयलाई ५ लाख र विद्यार्थीलाई १ लाख पुरस्कार वितरणको व्यवस्था गरिएको छ।
नगर अस्पतालबाट दैनिक ३०० भन्दा बढी बिरामीको उपचार भइरहेको अधिकारीले बताए।
स्थापना दिवसका अवसरमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाको काम प्रशंसनीय रहेको उल्लेख गरे। उपप्रमुख अनिता लामाले जनतासँग प्रत्यक्ष सम्बन्धित सेवामा कर्मचारी संयन्त्रले प्रभावकारी रूपमा काम गरेको बताइन्।