मुग्लिन–पोखरा सडकको भासिएको भाग चार महिनापछि मर्मत सुरु
तनहुँ — मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत थालिएको छ। अस्थायी संरचना बनाएर बनाइएको दुई लेन मध्ये अस्थायी भाग सवारी चापका कारण गत साउन अन्त्यतिर भासिएको थियो।
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले करिब १०० मिटर सडक मर्मतका लागि आजदेखि कालोपत्र उप्काएर काम सुरु गरिएको बताए। सो क्षेत्रमा सवारी आवागमन एकतर्फी गरिएको छ।
जामुने–आँबुखैरेनी ४१.५ किमी पूर्वी खण्डको कालोपत्र कार्य पूरा भएको छ। एडीबीको ऋण सहयोगमा चार लेन विस्तारको काम २०७८ वैशाख २ गतेबाट सुरु भएको हो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोडभन्दा बढीमा पाएकाे छ।