कालीगण्डकी नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु
बेनी नगरपालिका–८ कालीपुल तथा पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना क्षेत्रमा कालीगण्डकी नदीका तटीय बस्तीलाई बाढीबाट जोगाउन कटान नियन्त्रण आयोजना निर्माण सुरु गरिएको छ।
गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयका अनुसार करिब २ करोड ९८ लाख रुपैयाँ लागतमा निर्माण कार्य अघि बढाइएको हो।
आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदीकिनार सुदृढीकरणका लागि ८० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाइनेछ। संरचनामा चार मिटर चौडा र तीन मिटर अग्लो कङ्क्रिट बेस तयार गरिने र त्यसको माथिल्लो भागमा ग्याबिन पर्खाल जडान गरिने जनाइएको छ।
आयोजना सम्पन्न भएपछि कालीपुल आसपासको बस्तीलाई वर्षेनी दोहोरिने बाढी र कटान जोखिमबाट सुरक्षित हुने अपेक्षा गरिएको छ।