नारायणी नदीमा ‘आइकोनिक केबल–स्टेड पुल’ निर्माण सुरु
मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाकामध्ये एक, नारायणगढस्थित नारायणी नदीमा आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण औपचारिक रूपमा सुरु भएको छ। चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्न हाल प्रयोग हुँदै आएको पुलसँगै समानान्तर रूपमा नयाँ पुल निर्माण भइरहेको हो।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इ. नारायणप्रसाद लामिछानेका अनुसार पुल निर्माण डिजाइन एन्ड बिल्ड प्रणाली अन्तर्गत अघि बढिरहेको छ। ठेक्का सम्झौता २०८० जेठ १९ गते भएपछि तुँदी कन्स्ट्रक्सन प्रालिले अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकिएको छ। अहिले फिल्डमा जग खन्ने, फाउन्डेसन र पाइलिङ कार्य तीव्र रूपमा भइरहेको उनले बताए।
मुख्य टावरबाट तानिने स्टिल केबलले पुललाई थाम्ने भएकाले यो संरचना बलियो, सुरक्षित, सौन्दर्यपूर्ण र पहिचानमूलक हुने परियोजनाले बताएको छ। हाल नदीमा डाइभर्सन निर्माण गरेर फाउन्डेसन निर्माणका स्थानहरूमा आवश्यक स्पेस तयार गरिँदै छ।
आयोजनाका व्यवस्थापक इ. मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनु अघि नै फाउन्डेसन पूरा गर्ने लक्ष्यसहित काम भइरहेको छ। प्रारम्भिक चरणमा टेस्ट पाइल पनि अगाडि बढेको छ। चालु आर्थिक वर्षमै पाइलिङ र फाउन्डेसन सक्ने गरी कार्ययोजना बनाइएको छ। कुल निर्माण अवधि चार वर्ष भए पनि हाल डेढ वर्ष मात्र बाँकी रहेकाले म्याद थप प्रक्रिया समेत सुरु गरिएको उनले जानकारी दिए।
उनका अनुसार ‘सिग्नेचर पुल’मा नदीतर्फ दुई र दायाँ–बायाँ गरी जम्मा चारवटा पिलर रहनेछन्। नारायणगढतर्फ दुई महिनाभित्र पाइलिङ सक्ने र त्यसपछि गैँडाकोटतर्फको काम सुरु गर्ने योजना छ।
सडक विभागले सन् २०२३ मै ठेक्का दिएको यो पुल ४२० मिटर लम्बाइ र १२ मिटर चौडाइ हुने छ। आधुनिक आइकोनिक केबल–स्टेड संरचनामा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका प्रविधि रहनेछन्। पुल करिब १ अर्ब ६८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ।
नयाँ पुलको आयु कम्तीमा १०० वर्ष रहने अनुमान छ, जबकि हालको पुल २०३८ सालमा निर्माण भएको हो र यसको आयु ७० वर्ष तोकिएको थियो। नयाँ पुल निर्माणले पूर्व–पश्चिम यातायात तथा व्यापारिक आवागमनमा महत्वपूर्ण सहजता ल्याउने अपेक्षा गरिएको छ।