लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न बनेको कार्यदलले थाल्यो काम
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले काम सुरू गरेको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन टोली मंगलबार बेलुकी दाङ आएका हुन्।
उनीहरू आज मीना भण्डारी बस्नेतको घरमा गएर घटनाबारे बुझ्ने तयारीमा छन्। यस्तै स्थानीय प्रहरी कार्यालयमा पनि घटनाबारे बुझ्ने तयारी रहेको छ।
उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन्।
लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री वलीले गत मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट गर्नुका साथै दराजलगायत सामान तोडफोड गरेकी थिइन्।
यद्यपी पछिल्लो समय राज्य मन्त्री वलीले आफूले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताउने गरेकी छन्।