प्रचण्डलाई संसदीय दलको नेता छान्न बानेश्वरमा बैठक
(काठमाडौं) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई संसदीय दलको नेता चयन गर्न बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठक बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकले संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ।
यसअघि प्रचण्ड- नेपाल समूहको नेकपाको मंगलबारको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।
मंगलबारको निर्णयसहित आफूहरु नै आधिकारिक नेकपा रहेको दाबीसहित प्रचण्ड-नेपाल समूह बुधबार निर्वाचन आयोग जाने तयारीमा पनि छ । प्रचण्ड नेपाल पक्ष समूहको वर्तमान प्रतिनिधिसभाका सदस्यहरुको सोमबार पनि बैठक बसेको थियो। बैठकमा ९० जना सांसदहरुको सहभागी थियो।
यसअघि ओली पक्षले मंगलबार केन्द्रीय कमिटी विस्तार गरी सदस्यहरुको नामावलीसहित निर्वाचन आयोगमा दर्ता गरिसकेको छ।