यातायात कार्यालयबाट बिचौलियाको आरोपमा सात जना पक्राउ
रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काम गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका–१३ स्थित कार्यालय परिसरमा अवैध रूपमा बिचौलियाको गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा गुल्मीका २३ वर्षीय मनोज अर्याल, तिलोत्तमाका ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवलकी ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुपाल रहेका छन् ।
त्यस्तै बुटवलका ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधनका ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकालीका ५३ वर्षीय प्रेमध्वज श्रेष्ठ पनि पक्राउ परेका छन् । पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता चन्दले जानकारी दिएका छन् ।