पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ मजुवामा भएको दुर्घटनामा तनहुँका ६१ वर्षीय माधवप्रसाद शर्माको मृत्यु भएको हो । प्रहरीका अनुसार पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प ३५७३ नम्बरको स्कुटर सडकको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ की २२ वर्षीया सूचना शर्मा र पछाडि सवार उनका बुबा माधवप्रसाद गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको थियो । उपचारकै क्रममा माधवप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी सूचनाको उपचार भइरहेको छ ।