जलवायु परिवर्तनसँगै विश्वको पानी चक्र अनियमित बन्दै
काठमाडौं । विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम थप बढ्न सक्ने चेतावनी दिएको छ।
डब्लुएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि पछिल्लो तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो। गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतहसमेत लगातार घटेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावट पनि निरन्तर रहेको जनाइएको छ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु गम्भीर चिन्ताको विषय भएको बताइन्। उनका अनुसार यस्ता प्राकृतिक भण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभावलाई तत्काल संकटमा परिणत हुनबाट रोक्दै आएका थिए।
सन् २०२५ मा विश्वका हिमनदीहरूले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन्। सन् २०२३ देखि २०२५ सम्म हिमनदीहरूले करिब १ हजार ४ सय गिगाटन पानीबराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ। विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा पनि सन् २०२५ मा ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको साउलोले बताइन्।
यसैबीच, एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिम थप बढाउन सक्ने डब्लुएमओले जनाएको छ। शक्तिशाली एल निनो विकसित हुने अपेक्षाबीच यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
डब्लुएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो। सन् २०२५ पछिल्लो ३५ वर्षमा नदीहरूका लागि सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो। लगातार सातौँ वर्ष विश्वभर सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या अल्पमतमा रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य पानीको प्रवाह देखिएको थियो। त्यस्तै, करिब ३६ प्रतिशतमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह देखिएको थियो।
डब्लुएमओले पानी चक्रको अवस्था बुझ्न तथा जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्यांक र देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ। साउलोले पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्यांक, मापदण्ड र पूर्वचेतावनी प्रणाली आवश्यक रहेको बताइन्।
उनले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पुर्याउन सक्ने उल्लेख गर्दै हालै चीन र नेपालमा देखिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्।