रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योल, आर्सनलको नजर
रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर नयाँ मुख्य प्रशिक्षक होसे मोरिन्होको नेतृत्वमा प्रि–सिजन तयारीमा व्यस्त छन्। तर, इङ्लिस क्लब आर्सनलले उनलाई अनुबन्ध गर्न चासो देखाएपछि सान्टियागो बर्नाबेउमा उनको भविष्यबारे चर्चा बढेको छ।
भिनिसियसले रियाल म्याड्रिडको आधिकारिक टेलिभिजनसँग कुरा गर्दै मोरिन्होको प्रशिक्षण शैलीप्रति खुसी व्यक्त गरेका छन्। उनले नयाँ प्रशिक्षक र खेलाडीहरूसँग तालमेल मिलाउँदै कडा मेहनत गरिरहेको बताए।
रियालका लागि १२८ गोल र १०० असिस्ट गरिसकेका भिनिसियसको सम्झौता अन्तिम वर्षमा पुगेको छ। क्लब र खेलाडीबीच सम्झौता नवीकरणबारे छलफल भइरहे पनि आर्सनलले उनलाई भित्र्याउने सम्भावना नियालिरहेको बताइएको छ।
विश्वकपमा ब्राजिलका लागि चार गोल गर्दै टोलीका शीर्ष गोलकर्ता बनेका भिनिसियस अहिले आगामी सिजनका लागि फिटनेसमा केन्द्रित छन्। उनले टोलीका सबै खेलाडी चोटमुक्त रहँदै सिजनभर उपलब्ध रहून् भन्ने लक्ष्यसहित तयारी भइरहेको बताए।