विश्वकप २०२६ बाट तीनै आयोजक राष्ट्र बाहिरिए
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन्। संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका क्यानडा, मेक्सिको र अमेरिका लगातार तीन दिनमा पराजित हुँदै उपाधि यात्राबाट बाहिरिएका हुन्।
४८ टोली सहभागी यस विश्वकपमा क्यानडा राउन्ड अफ १६ मा मोरक्कोसँग ३–० ले पराजित हुँदै पहिलो आयोजक राष्ट्रका रूपमा बाहिरिएको थियो। त्यसपछि मेक्सिको इंग्ल्यान्डसँग ३–२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
घरेलु मैदान र समर्थकको साथ पाएका आयोजक टोलीहरू सुरुआती नकआउट चरणमै रोकिएपछि विश्वकपको उपाधि दौड अब आयोजकविहीन बनेको छ।
अन्तिम १६ को खेलमा अमेरिका पनि बेल्जियमसँग ४–१ ले पराजित हुँदै बाहिरिएको हो। घरेलु मैदानमा अमेरिकाले अपेक्षित प्रदर्शन गर्न नसक्दा विश्वकप यात्राको अन्त्य निराशाजनक बनेको छ।