विश्वकप २०२६ को फाइनल आज, स्पेन र अर्जेन्टिना उपाधिका लागि भिड्दै
फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आज (आइतबार) न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुँदैछ। महादेशीय च्याम्पियन स्पेन र साविक विश्वविजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च उपाधिका लागि आमनेसामने हुँदैछन्।
अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्दै सन् १९६२ पछि उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा छ। प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताभर अर्जेन्टिनाले सात खेलमा सर्वाधिक १९ गोल गर्दै आक्रामक खेल प्रदर्शन गरेको छ।
यसपटकको फाइनल लियोनेल मेस्सीको विश्वकप करियरको अन्तिम खेल हुन सक्ने चर्चा पनि छ। उत्कृष्ट लयमा रहेका मेस्सी गोल्डेन बल र गोल्डेन बुटका प्रमुख दाबेदार मानिएका छन्।
यता, प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेन अपराजित रहँदै फाइनल पुगेको हो। स्पेनले सातै खेल जितेको छ भने प्रतियोगिताभर केवल एक गोल मात्र बेहोरेको छ। सेमिफाइनलमा उसले फ्रान्सलाई २–० ले हराउँदै उपाधिनजिक पुगेको हो।
स्पेनको बलियो रक्षापंक्ति, रोड्री र फाबियन रुइजको मिडफिल्ड नियन्त्रण तथा युवा स्टार लामिन यामालको उत्कृष्ट प्रदर्शन टोलीको मुख्य बलका रूपमा रहेको छ।
दुवै टोलीका अधिकांश खेलाडी फिट रहेकाले प्रशिक्षकहरूले आफ्नो बलियो टोली मैदानमा उतार्ने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका लागि मेस्सी र जुलियन अल्भारेज अग्रपंक्तिमा रहने सम्भावना छ भने स्पेनले मिकेल ओयार्जाबालको नेतृत्वमा आक्रमण गर्ने तयारी गरेको छ।
न्यूयोर्क–न्यु जर्सी क्षेत्रमा क्यानडाको डढेलोबाट फैलिएको धुवाँका कारण केही समय वायु गुणस्तर प्रभावित भए पनि खेलअघि वर्षा हुने पूर्वानुमान रहेकाले त्यसको असर कम हुने अपेक्षा गरिएको छ।
लगातार दोस्रो विश्वकप जित्ने अर्जेन्टिनाको सपना पूरा हुन्छ वा स्पेनले १६ वर्षपछि पुनः विश्व च्याम्पियन बन्छ भन्ने टुंगो आजको फाइनलले लगाउनेछ।