कलैया नगर अधिवेशन विवादबारे रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर आइतबार प्रदर्शन गरेका छन्।
नगर अधिवेशनको निर्वाचन प्रक्रिया र त्यसपछिका निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ताहरूले पारदर्शिता तथा निष्पक्ष निर्णयको मागसहित धर्ना दिएका हुन्।
आन्दोलित कार्यकर्ताहरूका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए। निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद उत्पन्न भएको उनीहरूको भनाइ छ।
प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिले ५० प्रतिशतभन्दा बढी मत नपुगेको आधार देखाउँदै पुनः निर्वाचनको सूचना जारी गरेको दाबी गरेका छन्। उनीहरूले उक्त निर्णय पार्टीको विधान तथा लोकतान्त्रिक अभ्यासविपरीत रहेको आरोप लगाएका छन्।
“एक पटक निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार घोषणा गरिसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य हुन सक्दैन,” प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले बताएका छन्।
उनीहरूले निर्वाचन रद्द गरिएको सूचना कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्। साथै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ, निष्पक्ष छानबिन र विधानसम्मत निर्णयको माग गरेका छन्।
कार्यकर्ताहरूले पार्टीभित्र सञ्चालन भइरहेका अधिवेशनहरूमा पारदर्शिता कायम गर्न र सबै निर्णयहरू पार्टी विधानअनुसार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।