सिस्नेरी पहिरोमा ६ खेलाडीको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन
काठमाडौं । २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा ६ किशोर खेलाडीको मृत्यु भएको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ।
राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक जना कानुनी अधिकृत सदस्य रहेका छन्।
समितिलाई सोमबारदेखि २१ दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
२०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी विद्यालयमा सञ्चालित एन्फा सिस्नेरी एकेडेमीमा पहिरो जाँदा ६ किशोर खेलाडीको ज्यान गएको थियो।
घटनामा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको मृत्यु भएको थियो। खेलाडीका आफन्तहरूले घटनामा एन्फाको लापरबाही रहेको आरोप लगाउँदै आएका छन्।
मृतक खेलाडीका परिवारले घटनाको छानबिनको माग गर्दै खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई आवश्यक छानबिन गर्न निर्देशन दिएको थियो।