भीमफेदीमा पिकअप जीप दुर्घटना : इन्जिनियरसहित दुई जनाको मृत्यु
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति भएको पिकअप जीप दुर्घटनामा एक इन्जिनियरसहित दुई जनाको ज्यान गएको छ।
काठमाडौँको दक्षिणकालीबाट करिब ३५ किलोमिटर दक्षिण रहेको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटनामा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेको थियो। दुर्घटनामा परेका बारा जिल्ला पचरौता नगरपालिका–७ निवासी इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नगरपालिका–९ निवासी चालक बुढाथोकी गम्भीर घाइते भएका थिए।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।