विज्ञान र नवप्रवर्तनमा लगानी बढाउन मन्त्री महावीर पुनको आग्रह
सामाजिक सञ्जालमार्फत मन्त्री पुनले विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान प्राप्त गर्न पुँजीगत बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आगामी बजेट निर्माणका क्रममा उक्त विषयलाई प्राथमिकतामा राख्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेका हुन्।
उनले देशको समृद्धि र दिगो विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन अपरिहार्य रहेको बताउँदै यस क्षेत्रको विकासमा मन्त्रालयले महत्वपूर्ण कदम चाल्ने जानकारी दिए।
‘देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्नेछ,’ मन्त्री पुनले भने, ‘देशको विकास, अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने र गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगै आम नेपाली जनतामा विकास गर्न निरन्तर लागिरहनेछौँ।’
मन्त्री पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विकासको आधारस्तम्भका रूपमा स्थापित गर्न सबै तहका सरकार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको पनि जोड दिए।