रास्वपा महाधिवेशन भोलिदेखि, सभापति उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका, उम्मेदवारी प्रक्रिया तथा विभिन्न पदका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।
निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली असार ७ गते रातिसम्म प्रकाशन गरिनेछ भने असार ८ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरिने जनाएको छ।
सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ भने एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ। पदाधिकारीका लागि ४१ हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उम्मेदवारले पार्टी सदस्यता प्रमाणपत्र, अनुशासन कारबाही नपरेको स्वघोषणापत्र, शुल्क बुझाएको प्रमाण र पासपोर्ट साइजका दुई फोटो पेश गर्नुपर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।