नागढुङ्गामा सात लाख बराबरका १४ थान आइफोन बरामद
काठमाडौं, २८ जेठ — प्रहरीले काठमाडौं प्रवेश नाकास्थित नागढुङ्गा चेक प्वाइन्टबाट भन्सार छली गरी ल्याइएका अन्दाजी सात लाख रुपैयाँ बराबरका १४ थान आइफोन मोबाइल बरामद गरेको छ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा ती मोबाइल फेला परेका हुन्।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले कालो झोलामा राखेर ल्याइएका बिलबिजकविहीन आइफोन मोबाइल बरामद गरेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि नाकाहरूमा निगरानी कडा बनाएको जनाएको छ।