काभा महिला भलिबल: इरानको लगातार दोस्रो जित, श्रीलंकामाथि सोझो सेटको दबदबा
साबिक विजेता इरानले काभा महिला भलिबल च्याम्पियनसिप मा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा इरानले श्रीलंकाको महिला भलिबल टोली लाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
इरानले खेल पूर्ण रूपमा एकतर्फी बनाउँदै २५–१६, २५–१३ र २५–११ ले सहज जित हासिल गर्यो।
यो जितसँगै इरानले समूह ‘बी’ मा दुई खेलबाट ६ अंक जोड्दै सेमिफाइनल पुग्ने सम्भावना लगभग सुनिश्चित गरेको छ। यसअघि इरानले आफ्नो पहिलो खेलमा बंगलादेशको महिला भलिबल टोली लाई पनि ३–० को सोझो सेटमा पराजित गरेको थियो।
यता श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा उसलाई काजकिस्तानले पनि ३–० को सोझो सेटमा पराजित गरेको थियो।
श्रीलंकाको हारसँगै समूह चरणमा उसको अंक तालिका अझै शून्य अंकमै सीमित छ।