विदेश पठादिन्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
वैदेशिक रोजागारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको गोदावरी नगरपालिका १२ का २५ वर्षीय आयुष कार्की र डोटीको आदर्श गाउँपालिका ५ घर भई काठमाडौँ महानगरपालिका ३१ बस्ने २७ वर्षीय किरण ताम्राकारलाई पक्राउ गरेको हो ।
कार्की र ताम्राकारले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर सर्विया र जर्जिया लैजाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्कीले सर्विया पठाइदिने भन्दै १८ लाख ९० हजार र ताम्राकारले जर्जिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका हुन् ।
पक्राउ परेका कार्की र ताम्राकारलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।