लागुऔषधसहित एक युवती पक्राउ
कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पर्वत कुश्मा घर भई हाल पोखरा-२९ बस्ने २६ वर्षीया सिमा दर्जीलाई पक्राउ गरेको हो।
दर्जीको साथबाट प्रहरीले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी जम्मा ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र ४ लाख १ हजार रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी दर्जी यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी हुन्।
तर, गत भदौ २४ गते देशमा भएको जेनजी आन्दोलनको मौका छोपेर उनी काराबागारट फरार भएको खुलेको छ। जेलबाट भागेपछि पुनः लागुऔषधकै कारोबारमा सक्रिय रहेको अवस्थामा उनी नगदसहित प्रहरीको फन्दामा परेकी हुन्।