ललितपुरबाट स्रोत नखुलेको नगदसहित चारजना पक्राउ
ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाटबाट स्रोत नखुलेको ७ लाख ८८ हजार रूपैयाँ नगदसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय देव कुमार लामा, खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–११ का ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका–१० का ३९ वर्षीय ईन्द्र विक र सोही ठाउँका ३२ वर्षीय दिनेश विक रहेका छन्।
प्रहरीले सुन्दरीघाट क्षेत्रमा खानतलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको नगद फेला पारेको थियो, जसको वैधानिक स्रोत उनीहरूले खुलाउन सकेका छैनन्। पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरले थप कानुनी अनुसन्धान अगाडि बढाएको छ।