विधायन व्यवस्थापन समिति सभापतिमा कांग्रेसका रोकाया चयन
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाया निर्विरोध चयन भएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले रोकायालाई सभापतिमा चयन गरेको हो ।
समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाले बैठकमा कृष्णबहादुर रोकायालाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
समिति सभापतिमा सर्वसम्मत भएपछि रोकायाले कसैप्रति कुनै पनि प्रकारको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘मैले आफ्नो यो कार्यकालमा जसरी विश्वास गरेर माननीयज्युहरुले पठाउनुभएको छ । समितिको कार्यकालभरि म कसैप्रति पनि कुनै प्रकारको आग्रह नराखीकन पार्टीभन्दा माथि उठेर यो विधायन समितिलाई अझ गरिमामय बनाउने, राष्ट्रिय सभाको गरिमालाई बचाउने तथा निष्पक्ष भूमिका मेरो तर्फबाट हुनेछ,’ उनले भने ।