विकल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ ९ मा पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले पौडेलले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो ।
आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी छ । अख्तियारले विकल पौडेलमाथि अनुसन्धान हुँदा उनले ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै उसले लुकाइएको १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न माग गरेको हो ।