शपथलगत्तै सर्वोच्च पुगे बालेन्द्र शाह, अवहेलना मुद्दाको पेसी जेठ १४ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन गएका हुन् । उक्त मुद्दाको पेसी जेठ १४ गते तोकिएको छ ।
तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएर दिएको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।
उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले वारेस राख्न नपाउने र आफै उपस्थित हुन भनेको थियो ।
सर्वोच्चले मुद्दाको तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित भएका हुन् । तत्कालीन समयमा शाहले 'जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल-भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ भनि लेखेका थिए । यसले अदालतको अवहेलना गरेकाले कैद र जरिवाना हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।