विष्णु पौडेलको बजेटमाथि खनालको कडा समीक्षा, ८६% मात्र कार्यान्वयन हुने अनुमान
काठमाडौं: चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री रामेश्वर खनालले पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट यथार्थ मूल्यांकनबिनै तयार गरिएको टिप्पणी गरेका छन्। उनले बजेटका स्रोतको अतिरञ्जित अनुमान र खर्चको अव्यवहारिक विनियोजनका कारण कार्यान्वयन कमजोर देखिएको बताएका हुन्।
मंगलबार संसद्मा अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै खनालले १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमध्ये करिब १६ खर्ब ८८ अर्ब रुपैयाँ (८६%) मात्र खर्च हुने अनुमान सार्वजनिक गरे। यो प्रारम्भिक बजेटभन्दा २ खर्ब ७६ अर्ब रुपैयाँ कम हो।
खनालका अनुसार बजेटमा स्रोतको वास्तविक आँकलन नभएको, तयारी पूरा नभएका तथा टुक्रे आयोजनामा पुँजीगत बजेट छुट्याइएको, स्वास्थ्य बीमा जस्ता अनिवार्य दायित्वका लागि पर्याप्त बजेट विनियोजन नगरिएको र खर्चमा प्राथमिकीकरण नहुँदा कार्यान्वयन चुनौतीपूर्ण बनेको छ।
अर्धवार्षिक समीक्षाअनुसार पुँजीगत खर्चमा सबैभन्दा ठूलो कटौती देखिएको छ। विनियोजित ४ खर्ब ७ अर्ब रुपैयाँमध्ये २ खर्ब ४३ अर्ब रुपैयाँ (५९%) मात्रै खर्च हुने अनुमान गरिएको छ। चालु खर्च ११ खर्ब ८० अर्बबाट घटेर ११ खर्ब २५ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्बबाट घटेर ३ खर्ब १९ अर्ब रुपैयाँ रहने अनुमान छ।
आम्दानीतर्फ पनि राजस्व, वैदेशिक ऋण र अनुदान सबैमा लक्ष्यभन्दा कम संकलन हुने प्रक्षेपण गरिएको छ। राजस्व र आन्तरिक ऋणबाट १६ खर्ब ७७ अर्बको लक्ष्य घटाएर १५ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक ऋण २ खर्ब ३६ अर्बबाट घटाएर १ खर्ब ४१ अर्ब तथा वैदेशिक अनुदान ५३ अर्बबाट घटाएर ३१ अर्ब रुपैयाँमा झारिएको छ।
अर्थमन्त्री खनालले बजेटको आकार घटाइएको नभई खर्च क्षमता र स्रोतको यथार्थ मूल्यांकन मात्र गरिएको स्पष्ट पार्दै आगामी दिनमा खर्चमा कडाइ र प्राथमिकीकरण आवश्यक रहेको बताए।
यसैबीच, अर्थसचिव घनश्याम उपाध्यायले कठिन अवस्थाबाट नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख बनेको दाबी गर्दै निजी क्षेत्रमैत्री वातावरण, कर संकलनमा सुधार र बाह्य क्षेत्र सुदृढ बन्दै गएको बताएका छन्।