रास्वपालाई निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) — जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ।
आज जिल्ला सदरमुकाम परासीमा रास्वपाका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त भएपछि प्रशासनले आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा दल, उम्मेदवार वा समर्थकले पार्टी चिह्न अंकित पहिरन, ब्याच, स्टिकर, झोला वा अन्य साङ्केतिक सामग्री प्रदर्शन गर्न नपाइने छ।
यसअघि विभिन्न जिल्लामा भएका यस्ता कार्यक्रममा कार्यकर्ताहरू घण्टी बजाउँदै तथा ब्याच लगाएर हिँडेको दृश्य सामाजिक सञ्जालमा देखिएको थियो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको छ।