झापामा करेन्ट लागेर मजदुरको मृत्यु
झापा — झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा कार्यरत शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको मिक्चर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। मिक्चर मेसिनमा हिल्टी हान्दा करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
घाइते राजवंशीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।