लिचिबारी भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमा सर्वोच्चमा पेसी तोकियो
काठमाडौँ — लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइ हुने भएको हो।
विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेश बदरको माग गर्दै गुप्ताले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए। यसअघि न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको निवेदन परे–नपरेको बुझ्न आदेश दिएको थियो।
पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। साथै, पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग मिलेमतो गरी २५ लाख रुपैयाँ घुस लिएको अभियोगसमेत लगाइएको छ।
गुप्ताले अदालतमा बयान दिँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए। तर विशेष अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने निष्कर्ष निकालेको थियो।