११ वर्षको प्रतीक्षापछि सुवास घिमिरेले पाए नागरिकता
म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको लामो प्रतीक्षापछि नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरेका हुन्।
बुवाको पहिचान खुल्न नसक्दा नागरिकता प्राप्त गर्न नसकेका घिमिरेले १६ वर्षको उमेरदेखि प्रयास गर्दै आएका थिए। नागरिकता पाएपछि आफूलाई बल्ल वास्तविक रूपमा नागरिक भएको महसुस भएको उनले प्रतिक्रिया दिए। “धेरै वर्षको प्रयास सफल भयो, अब ढुक्क महसुस भएको छ,” उनले भने।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सुवासलाई उनकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको हो। उनले तीन वर्षअघि आवश्यक कागजातसहित आवेदन दिएका थिए। नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन २०८२ अनुसार उनलाई नागरिकता प्रदान गरिएको प्रशासनले जनाएको छ।
शारीरिक रूपमा अपाङ्गता भएका सुवास नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित थिए। साथै रोजगारीको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा उनको दैनिकी असहज बन्दै आएको थियो।
हाल सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। कमलाका जेठा र माइला छोरा भारतमा कार्यरत छन् र उनीहरूले नागरिकता बनाइसकेका छन् भने साहिँला छोरा अझै नागरिकताविहीन छन्।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो। यसअघि पनि बेनीका मिर खान, यास्मीन बेगम तथा मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो।
प्रशासनका अनुसार आमाको नामबाट नागरिकता लिनका लागि थप सेवाग्राहीहरूले आवेदन दिएका छन्। आवश्यक छानबिन र प्रक्रिया पूरा भएपछि उनीहरूलाई पनि नागरिकता प्रदान गरिने जनाइएको छ।