वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
वीरगन्ज — वीरगन्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा छापा मार्दा स्थानीय व्यापारी समूहले आक्रमण गरेको थियो। आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो। घटनाको सिसीक्यामेरा फुटेजका आधारमा थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको नाम अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
छापा मारिएको स्थान मदनप्रसाद गुप्ताको घर रहेको र सो स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्यका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।