कांग्रेसले घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति गगन थापा
सिरहा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्र नभई प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन्।
सिरहा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभाद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचनपछि सरकार गठनसँगै कामको स्पष्ट समयसीमा र मूल्यांकन प्रणाली लागू गरिने बताए।
उनका अनुसार फागुन २१ गते निर्वाचन, चैतमा सरकार गठन र वैशाख १ गते प्रधानमन्त्रीले प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउनेछन्।
“भाषण होइन, काम गरेर देखाइन्छ,” थापाले भने, “वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ। त्यसपछि प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा हुनेछ र नागरिकलाई पनि मूल्यांकन प्रक्रियामा सहभागी गराइनेछ।”
सभापति थापाले नियमित मूल्यांकनसहितको उत्तरदायी सरकार सम्भव रहेको बताउँदै त्यसका लागि उत्साह, अनुभव, जोश, विवेक र सम्हाल्ने क्षमता आवश्यक हुने उल्लेख गरे।
उनले केवल आलोचना र उखान–टुक्काले देश नबन्ने भन्दै सबैलाई मिलाएर अघि बढाउने नेतृत्व क्षमता नेपाली कांग्रेस र आफूमा रहेको दाबी गरे।
कांग्रेस उम्मेदवारहरूले जिल्लाजिल्लामा गरेका प्रतिबद्धता पूरा हुने दाबी गर्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने पनि उनले बताए। यद्यपि, त्यसका लागि जनताले पहिले कांग्रेसलाई जिताएर पठाउनुपर्ने उनको भनाइ थियो।
“हामी सपना बोकेर आएका छौं,” थापाले भने, “देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन, युवालाई भरोसा दिन र ‘नेपाली हुँ’ भन्ने गर्व जगाउन चाहन्छौं। त्यसका लागि जनताको साथ अपरिहार्य छ।”
सभापति थापाले युवाहरूकै भविष्यका लागि जोखिम मोलेर आफू पार्टीको नेतृत्वमा आएको पनि स्पष्ट पारे।