जनकपुरधाममा ८०% परिवार खानेपानीको पहुँच बाहिर, पुरानो वितरण प्रणाली समस्या
जनकपुरधाम, २६ पुस । जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर रहेका छन्। खानेपानी संस्थानले दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम पानी आपूर्ति गर्दै आएको छ।
नगरक्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग भए पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइपमार्फत पानी आपूर्ति गर्दै आएको छ। कार्यालय प्रमुख विष्णुदेव साहका अनुसार, राष्ट्रिय जनगणना २०७८ का तथ्यांकअनुसार हाल ४० हजार ४०९ परिवारमध्ये केवल पाँच हजार परिवारमा धारासहित मिटर जडान गरिएको छ। तीमध्ये करिब ४० प्रतिशत घरमा मात्र आशिंक रूपमा पानी आपूर्ति भइरहेको छ।
वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताका दुई ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट संकलित भूमिगत पानी प्रशोधन गरी वितरण भइरहेको छ। करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण पाइप फुट्ने, चर्कने र जीर्ण संरचनाका समस्याले नियमित आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालय प्रमुखले बताए।
सीमित बजेटका कारण सबै वडामा पुरा पानी आपूर्ति गर्न कठिनाइ भएको छ। उनीहरूले विगत आर्थिक वर्षमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की निर्माण र आठ–आठ इन्चको पाइप बिछ्याउने काम गरेको भए पनि, स्रोत र साधन सीमित भएकाले नियमित आपूर्ति ५० प्रतिशत मात्र हुने गरेको छ।
त्यसैगरी, पटकपटक विद्युत आपूर्ति बन्द हुँदा पानी वितरणमा थप समस्या देखिएको छ। अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर दैनिक आवश्यकताका लागि पानी प्रयोग गरिरहेका छन्।
जनकपुरधामवासीको दैनिक जीवनमा खानेपानी आपूर्तिको अभावले चुनौती थपिरहेको छ।