निपा भाइरसप्रति सतर्क रहन स्वास्थ्य विज्ञको आग्रह
काठमाडौं — निपा भाइरस (Nipah Virus) गम्भीर र उच्च मृत्युदर भएको संक्रमणजन्य रोग भएकाले यसप्रति सचेत रहन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्ने यो भाइरस मुख्यतः फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट फैलिने गर्दछ।
विज्ञहरूका अनुसार चमेरोले टोकेका वा जुठो पारेका फलफूल खानु, संक्रमित सुँगुरजस्ता जनावरको सम्पर्कमा आउनु तथा संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कबाट निपा भाइरस सर्न सक्छ। संक्रमणपछि ५ देखि १४ दिनभित्र ज्वरो, टाउको दुखाइ, खोकी, श्वासप्रश्वासमा समस्या देखिनुका साथै गम्भीर अवस्थामा मस्तिष्क सुन्निने समस्या देखिन सक्ने बताइएको छ।
अहिलेसम्म निपा भाइरस विरुद्ध प्रभावकारी खोप वा औषधि उपलब्ध नभएकाले सावधानी नै प्रमुख उपाय भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। फलफूल राम्ररी पखालेर मात्र खाने, हात साबुन पानीले नियमित धुने, बिरामी जनावरबाट टाढा रहने र शंकास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल सम्पर्क गर्न आग्रह गरिएको छ।