अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै क्लस्टर माग
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
संघले अपाङ्गता भएका व्यक्तिलाई छुट्टै क्लस्टरमार्फत समावेशी समानुपातिक प्रतिनिधित्व नदिनु संवैधानिक अधिकारको उल्लंघन हुने जनाएको छ । संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले जारी गरेको विज्ञप्तिमा सरोकारवालासँग छलफल नगरी राष्ट्रिय जनगणनाका आधारमा समानुपातिक समावेशी समूहको नयाँ प्रतिशत तय गर्ने सिफारिस अस्वीकार्य भएको उल्लेख छ ।
विज्ञप्तिमा २०७८ को जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या कम्तीमा २.२ प्रतिशत रहेकाले सोही आधारमा छुट्टै क्लस्टर निर्माण गरी प्रतिनिधिसभामा निर्वाचित हुने व्यवस्था गर्न माग गरिएको छ । माग बेवास्ता भए आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।