भोलि दिनभर कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्रले भोलि शनिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम चलिरहेकोले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो । प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन खण्डको निर्माणाधीन बाँके जिल्ला कोहलपुर नगरपालिका—१० चप्परगौडि टावर र सुर्खेततर्फ भेरीगंगा नगरपालिका–४ हर्रे–च्यामिरेबिचमा तार तान्ने कार्य हुने छ ।
उक्त स्थानमा हाल सञ्चालनमा रहेको कोहलपुर–सुर्खेत ३३ केभी तथा ११ केभी लाइन क्रसिङ हुने हुँदा सुरक्षाका कारण लाइन बन्द गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।