ठमेलबाट फरार कैदी पक्राउ, १० लाखभन्दा बढी नगद बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ निवासी दीपक गजुरेल रहेका छन्।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गजुरेललाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनले यही शुक्रबार राति काठमाडौंको सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको खुलेको छ।
प्रहरीका अनुसार गजुरेलले यसअघि मङ्सिर २४ गते काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि चोरी गरेको पाइएको छ। पक्राउका क्रममा प्रहरीले गजुरेलबाट चोरीको नगदसहित खैरो रङको झोला, चोरी गर्दा प्रयोग गरिएको हरियो रङको हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।